प्रेस विज्ञप्ती ठूलीबेसी न्यादी हाइड्रो पावर परियोजना

  • Posted Date: April 01, 2020

मितिः १९ चैत्र २०७६   

कोरोना भाइरस संक्रमणले मानव समुदायमा गम्भीर संकट पैदा गरेको तथा त्यसलाई नियन्त्रण गर्न विश्व स्वस्थ्य संगठनको अनुरोधमा विश्वको एकतिहाई राष्ट्रहरुले आ–आफ्ना देशमा लकडाउन गरेका छन् । नेपाल सरकारले पनि २०७६ चैत ११ देखि २५ गतेसम्म लकडाउनको घोषणा गरेका सर्ब विदितै छ । यसको पूर्ण पालना गरिएन भने कोरोना भाइरस फैलिएर गम्भीर परिस्थिति सृजना हुने आंकलन गरिएकोले जनसमुदायमा सजगताका साथै चिन्ता पनि त्यतिकै व्याप्त छ ।

यस भाइस्काकारण प्रत्येक दिन धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन् । सरकारको निर्णयलाई समर्थन गर्दै आदिवासी लगायत स्थानीय समूदायहरुले पनि आफ्ना परम्परागतविधि अनुसार आफ्नो गाउँलाई प्रभावकारीरुपमा लकडाउन गरेका छन् ।  लम्जुङ जिल्ला, मस्र्याङदी गाउँपालिका वडा ६, ठूलीबेसी गाउँका जनसमुदाय मिलेर अत्यावश्यक कार्य बाहेक आफ्नो गाउँमा बाहिरको मानिस आउन नपाउने र भित्रका बाहिर जान नपाउने भनी लकडाउन गरेका छन् ।

बुटवल पावर कम्पनी लि. लम्जुङ विद्युत विकास कम्पनीको लगानीमा चिनियाँ कम्पनी Zhejiang Hydropower Construction and Installation Co. ले न्यादी हाइड्रो पावर परियोजना ठूलीबेसी नजिक निर्माण गर्दै आएकोमा हाल नेपाल सरकारको लकडाउन तथा समुदायको निर्णयको वेवास्था गर्दै आएको छ । सो परियोजनाको गाडीमा सामान तथा बाहिरका मानिसहरु लिएर निर्वाधरुपमा आवतजावत गर्ने कार्यले स्थानीय समुदायमा अत्यन्त जोखिम र संत्रासको वातावरण सृजना गरेको पीडितहरुले जानकारी गराएका छन् । स्थानीयहरुले परियोजना तथा सम्बन्धित  पक्षलाई यस विषयमा संवेदनशील बनिदिन पटक–पटक आग्रह गरेको तर परियोजनाले बेवास्ता गरेको बताएको छन् ।

यस्तो विषम परिस्थितिमा पनि मिति २०७६।१२।१७ गतेका दिन सो परियोजनाले भारतबाट गाडीमा टर्वाइन लोड गरी बाहिरका मानिस समेत ल्याएर आएकोमा स्थानीयले सोधपुछ गरी गाउँ लकडाउनमा रहेको जानकारी दिएका थिए । तर, ति मानिसले लकडाउनको वेवास्ता गर्दै, स्थानीय समुदायलाई धाकधम्की दिए । उल्टै भान्सामा प्रयोग हुने हतियार तथा रड बोकेका कम्पनीको ४० देखि ५० जना कामदार बोलाई समुदायलाई नै घेरा बन्दीमा पारी असमान्य परिस्थिती सृजना गरेको भनि स्थानीय समुदाय बताउँदछन् । साथै प्रहरी प्रसाशन बोलाएर कागजपत्र पढ्न नदिई जवरजस्ती सहीछाप गर्न लगाएको बताउँछन् । यस्तो मानव अधिकार विरुद्घको कार्यबारे हामीलाई जानकारी भएकोमा यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुर्निपको गम्भीर ध्यानार्कषण भएको छ ।

यस्तो संबेदनशील समयमा लकडाउन कार्यान्यवर सम्बन्धमा नेपाल सरकार तथा सम्बन्धित निकाय सबैले यी परम्परागत संस्था र स्थानीय समुदायसंग समन्वय गर्न अनुरोधसमेत मिति २०७६।१२।१६ गते नै लाहुनिपले गरिसकेको छ र त्यसलाई ध्यान दिन भनी पुनः अनुरोध गरिन्छ ।

अत, कोरोनाभाइरसबाट बच्नको लागि गरेको सरकारी निर्णय, अपील र जनसमुदायले स्वास्थ्यसुरक्षाको लागि गरेको निणर्यलाई पालनगर्न गराउन स्थानीय प्रशासन, प्रहरी, परियोजना लगायत सम्बन्धित पक्षलाई हामी हार्दिक आग्रह गर्दछौ । साथै, प्रहरी प्रशासन बोलाएर जनतालाई आतंकित, भयावित पार्ने, झुठा मुद्दामा फसाउने कार्यलाई तुरुन्त बन्द गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौ ।

 

 

................

शंकर लिम्बू

सचिव

Download File