अपमानजनक शब्दार्थ, नेपाल खड्गी सेवा समिति

Overview

तथ्य

नेपाल खड्गी सेवा समिति (खड्गी समाज), आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ को अनुसूची २ बमोजिम सूचिकृत ५९ आदिवासी जनजातिमध्येको नेवार जातिभित्रको एक समुदाय, खड्गी जाति हो । नेपाल खड्गी सेवा समिति नेवार आदिवासी भित्रको खड्गी समुदायको प्रतिनिधिमूलक संस्था हो । देशका विभिन्न भु–भागमा बसोवास गरिरहेका नायः, सिंह, शाही तथा खड्गी समुदायलाई गोलबद्घ गरी उनिहरुको उत्थान गर्ने उद्देश्यले वि. स. २०२६ सालेखि संगठित भई संघ संस्था ऐन २०३४ बमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मिति २०५६÷१२÷११ गते दर्ता भई कार्य गरी आएको छ । 
यस खड्गी जाति परम्परागत रुपमा फलफुल तथा माछामासुको व्यवसाय गरी आएका थिए । हाल विभिन्न पेशा व्यवसाय अपनाउदै आएका छन् भने अन्य समुदायले पनि माछामासुको व्यवसाय गरेको देखिन्छ । नेपालको इतिहासमा महिषपाल वंशी खड्गी जातिलाई नायः सिंह, शाही समेतले बुझाउने गरेको पाउँदछौं । 
भक्तपुरका नायः खड्गीहरुले जयस्थिति मल्लले आफैंलाई उत्तराधिकारी घोषित गरेको विषयलाई लिएर विरोध गरेका थिए । त्यसैले जयस्थिति मल्ल आफू राजा भएपछि बदलामा नायः खड्गीहरुलाई दमन गरेको थियो । पछि राणाकालमा जंगबहादुरले सत्ता चलाउनको लागि मुलुकी ऐन, १९१० निर्माण गरे, जसको पानी नचलन्या घटीबढी जातको महलमा पानी नचलन्या छोया छिटो हालनु नपन्र्या जात कसाही  भनी उल्लेख गरेको छ । जसले जातीय विभेद्लाई प्रशय दिएको थियो । जसको प्रत्यक्ष असर नायः खड्गी समाजलाई पर्न गयो । नायः खड्गी जातिलाई अपहेलित गर्ने गरी नाय्,  कसाई,  जातको रुपमा धारण गर्न बाध्य पारियो ।
यसरी पेशाको आधारमा जात नै छुट्याउने भए÷गरेको ऐतिहासिक विभेद्लाई आजसम्म पनि निरन्तर  भोगिरहनु परेको अवस्था विद्यमान छ । तर समयको परिवर्तन संगै माछामासु तथा फलफुलको व्यवसाय मात्र खडगी समुदायले भन्दा अन्य जातिसमेतले गर्दै आईरहेको छ । ती समुदायलाई राज्यले  प्रदान गर्ने नागरिकतालगायतको सरकारी कागजातमा कसाई भनी थर उल्लेख नगरिएको हुँदा खड्गी समुदायलाई मात्र यसरी होच्याउने किसिमको अपहेलित महशूस हुने खालको शब्दार्थ रहेको जातिको रुपमा कसाई भनी उल्लेख गरिरहेको अवस्था छ । सोही अनुसार राज्यले प्रदान गर्ने नागरिकता, निर्वाचन परिचयपत्र, पासपोर्ट, जग्गाधनी लालपूर्जा, पेन्सनपट्टा, शैक्षिक प्रमाणपत्रलगायतका पहिचानजन्य कागजातमा कसाई थर लेखाइएको अवस्था रहेको छ । यस शब्दले समग्र खड्गी जाति प्रति मनोवैज्ञानिक रुपमा ग्लानी, अपहेलित अनुभूति गर्ने खालको शव्दहरुको कारण करीब ३०००० भन्दा बढी खड्गी समुदायलाई निरन्तर रुपमा नकारात्मक मानसिक, सामाजिक,तथा आर्थिक एवं वैयक्तिक विकासमा समेत प्रभाव पारिरहेको अवस्था छ, जुन पेशागतभन्दा पनि जातिगत पहिचान तथा थरको रुपमा स्थापित गराइएको अवस्था छ ।

 
मागदावी


नेपालको संविधानको धारा १६ ले मौलिक हकको रुपमा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक÷अधिकारको संरक्षण गर्न र धारा १८ बमोजिम विभेद् विरुद्घको समानताको हक सुनिश्चितताको लागि धारा १३३(२) र (३) बमोजिम सार्वजनिक सरोकारको विषयले देहाय बमोजिमको जो चाहिने आज्ञा आदेशको माग गरिएको छ ।

  • अपमानजनक शब्दार्थ रहेको जाति समुदाय जनाउने गरी राज्यबाट प्रदान गरिएको नागरिकतालगायत नागरिकतालाई आधार मानेर बनाईने पासपोर्ट, सवारी चालक अनुमति, जग्गा धनी प्रमाणपत्रलगायतको सरकारी कागजातहरुमा तीनपुस्ते वंशजको थर सच्याउन पाउने गरी छाता ऐन निर्माण गरी गराई कानून बमोजिम व्यवस्था मिलाउने गरी प्रत्यर्थीहरुको नाममा परमादेशयुक्त जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।
  • जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत मिति २०७३।०४।१० गतेको निर्णय भनी नागरिकताको पीठमा जातीय संकिर्णता हिनताबोध भनी उल्लेख गरिएको तथा बुवा, बाजेको थर भने साविक कसाई नै थर राखी वितरण गरिएको नागरिकता प्रमाणपत्रमा समेत तीनपुस्ते बुवा, बाजेसमेतको थर सच्याउन सकिने गरी जहाँ जे जस्तो आवश्यक आज्ञा आदेश जारी गरिपाऊँ ।
  • उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को नियम ६(१) बमोजिम उमेर, नाम जात सच्याई माग्नेले आफ्नो नाम, जात र उमेर उल्लेख भएको प्रमाणपत्र पाएको मितिले ६ महिनाभित्र उक्त कुरा सच्याई पाउनको लागि दरखास्त दिनु पर्छ भनी मात्र ६ महिनाको दरखास्त दिने म्याद परिमार्जन गरी थर सच्याई पाऊँ ।
  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतामा बुबा, बाजेसमेत तीनपुस्ते वंशजको थर कसाईको सट्टामा आफनो सम्मान हुने थर राख्न पाउने गरी सम्बन्धित प्रत्यर्थीको नाममा निर्देशनात्मक आदेश जारी गरिपाऊँ ।
  • शैक्षीक प्रमाणपत्र, निर्वाचन परिचयपत्र, सवारी चालक अनुमतिपत्र, पासपोर्ट, पेन्सनपट्टा, जग्गाधनी लालपूर्जा भवन निर्माण सम्पन्न प्रमाणपत्रलगायत जे जति सरकारी कागजातहरुमा  िहोच्याउने अपहेलित महशूस हुने संर्किणता, हिनताबोध हुने कसाई, कसाही, साही, साई थरको सट्टामा आत्मसम्मान हुने थर नायः, सिंह, शाही, खड्गी थर राख्न पाउने गरी जो जे चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।
  • प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बृहत् शब्दकोशमा कसाईको शब्दार्थसंगै कसाई भनेको नेवारको एक जाति खड्गी भनी उल्लेख गरिएको हुँदा सो शब्द नै सो बृहत् शब्दकोशबाट हटाई पाऊँ ।

फैसला तथा प्रतिपादित सिद्घान्त 

खड्गी समुदायका व्यक्तिहरुलाई राज्यबाट प्रदान गरिएको नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्रलगायतको सरकारी कागजातहरुमा साविकमा प्रयुक्त थरुहरु कसाई, कसाही, साही, साईको सट्टामा आत्मसम्मानको बोध हुने थरुहरु नायः, सिंह, शाही, खड्गी कायम गराउन यथाशीघ्र आवश्यक कानूनी तथा अन्य व्यवस्थापकीय प्रबन्ध गरी कार्यान्वयन गर्नू भनी विपक्षीहरको नाउँमा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ भन्ने अदालतबाट आदेश भएको छ ।

S.N.Title 
1.०73-WO-0140Download & Print