प्रेस वक्तव्य_राउटे

प्रेस वक्तव्य


राउटेलाई स्थानहदबाट मुक्त गरी पहिचानसहित सम्मान पूर्वक बाँच्न देऊ !

आफ्नो पुख्र्यौली थातथलो हाल दैलेख, सुर्खेत, जाजरकोट, दाङ्ग, कैलाली, बझाङ्ग, अछाम, डोटीलगायतका जिल्ला अन्तर्गतका विभिन्न वनक्षेत्रमा घुमन्ते जीवन शैली अपनाई आएका राउटे समुदायलाई गुराँसे गाउँपालिका तथा एक गैरसरकारी संस्थाले गत २०७६ साल बैशाख २९ गते देखि लागुहुने गरी डोरीले घेराबार गरी स्थानहद गरी राखेको र स्वतन्त्र रुपले घुमफिर गर्न बन्देज गरेको तथा बाहिरका मानिसहरुले समुदायलाई हेर्नका लागि टिकट काट्नुपर्ने अर्थात् चिडियाखानामा जनवारलाई हेरे जस्तै गरी अपमानित अवस्थामा समुदायलाई राखेकोप्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लार्हुनिप)को गम्भिर ध्यानाकर्षण भएको छ । यस प्रकारको अमानविय कार्यप्रति लाहुर्निप घोर आपत्ति तथा गम्भीर चिन्ता ब्यक्त गर्दछ । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले राउटेहरुलाई आदिवासी जनजातिको रुपमा मान्यता दिई सूचिकृत गरेको समुदाय हो । नेपालको संविधान, २०७२ को धारा ५१ (ञ) (८) ले आदिवासी जनजातिलाई पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान गरेको छ ।  नेपाल पक्षराष्ट्र रहेको आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७ को धारा ८, धारा २६ तथा अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९को धारा (७), धारा (१३) र धारा (१४)ले प्रत्याभूत गरेको पहिचानलाई कायम राख्न पाउने र पुख्र्यौली थातथलोमाथिको अधिकार तथा आफ्ना जीवनशैली स्वतन्त्र रुपले कायम गरी बाँच्न पाउने अधिकारको उल्लंघन भएको छ । संवैधानिक, कानूनी र मानवअधिकारका कानूनले प्रत्याभूत गरेको अधिकार उल्लंघन गरी राउटेहरुलाई तारबार गर्न लागिएको छ भन्ने यस संस्थाको स्थलगत अनुगमनमा जाँदा जानकारी प्राप्त भएको छ । स्थलगत अनुगमनमा बाहिरका मानिसहरुसंग बोल्नलाई पनि बन्देज गरिएको भन्नेसम्मको सूचना प्राप्त हुन आएको अवस्थाले २१औं शताब्दीमा यसप्रकारले राउटे समुदायलाई गरिएको ब्यवहार  गैरकानूनी, गैरसंवैधानिक, मानव अधिकारको हदैसम्मको उल्लंघन र अक्षम्य घटना भएकोले राउटे समुदायलाई तत्काल मुक्त गरियोस् ।  

साथै यस घट्नासंग संलग्न संस्था, ब्यक्ति, राजनीतिक नेता वा जोसुकैलाई सरकारले अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याओस् । यस प्रकारको कार्य अन्तर्राष्ट्रिय मानवअधिकारको दृष्टिले जनसंहारको दायराभित्र पर्ने भएकोले त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं ।  

यस अमानवीय कार्यबाट मुक्त गरी राउटेहरुले परम्परागत रुपमा चलिआएको स्वतन्त्र जीवन निर्वाह गर्ने वातावरण तयार गर्न मानवअधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, पत्रकार जगत, नागरिक समाज र न्यायप्रेमी सम्पूर्णलाई आ–आफ्नो स्थानबाट भरमग्दुर सहयोग गर्न हार्दिक अपिल गर्दछौं । 


शंकर लिम्बू
सचिव
मितिः २०७६ असार २० गते 

Download & Print