प्रेस विज्ञप्ती (सप्तरी)

मितिः २०७३ फागुन २४

प्रेस विज्ञप्ती

ने.क.पा.(एमाले)को मेची महाकाली अभियानको क्रममा फाल्गुण २३, २०७३ का दिन सप्तरी, राजविराजमा भएको झडपमा प्रहरीले चलाएको गोली नागरिकको टाउको, छात्ति, पेट जस्ता संवेदनशील भागहरुमा लागि ४जनाको मृत्यु तथा दर्जनैँ घाइते भएको घटनाप्रति नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)को ध्यानाकर्षण भएको छ । सो अमानवीय तथा दुखद घटनाको लाहुर्निप भत्र्सना गर्दछ । घटना सम्बन्धित प्रकाशित समचारहरु तथा तत्काल प्राप्त सूचनाअनुसार एमालेको कार्यक्रम सकेपछि प्रहरी रहेकै दिशामा रहेका केही व्यक्तिहरुले स्थानीय जनतातर्फ ढुंगा प्रहार गरी  झडपको स्थिति सृजना गराई सुनियोजि तरुपमा घटना घटाईएका कारण गम्भीर परिस्थिति उत्पन्न भएको देखिन्छ ।

 

राजनीतिक क्रियाकलापको आवरणमा मधेशी समुदायको प्रतिष्ठामा आँच आउने आपत्तिजनक अभिव्यक्ति जिम्मेवार नेतृत्वहरुबाट आउनु, शान्ति सूरक्षाको नाममा अत्यधिक बल तथा कानून विपरित जथाभावि गोली चलाउने कार्यबाट नेपाल पक्षराष्ट्र रहेको सबै प्रकारको जातीय (नश्लीय) विभेद उन्मूलन गर्ने महासन्धिको धारा ४ बिपरित नश्लीय कुरालाई बढावा दिएकोप्रति सरकार तथा सम्बन्धित राजनीतिक पार्टीलाई सचेत र संवेदनशील रहन  लाहुर्निप आग्रह गर्दछ ।

 

मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा ४, ४(१), ५(ख), नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्धको धारा ७ तथा नेपालको संविधानको धारा १६ले प्रत्याभूत सम्मानपुर्वक बाँच्न पाउने अधिकार कुण्ठीत गरेको देखिएकाले, सारकारले अविलम्ब घटनाको स्वतन्त्र, निश्पक्ष र विश्वसनीय छानबीन गरी दोषीलाई कारबाही, पीडितलाई न्यायोचित क्षतिपूर्ति र घाइतेहरुको उपचार प्रदान गरियोस् ।

 

अब उप्रान्त, यस्ता घटना दोहेरिन नदिन र जनताको सम्मानपूर्वक, सुरक्षित रुपमा बाँच्न पाउने हकको पूर्ण बहाली गर्न सरकार तथा सम्बन्धित पक्ष संवेदनशील र जिम्मेवार रहन लाहुर्निप आग्रह गर्दछ ।

 

साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको दुई दिने बन्द (फागुन २४ र २५)का क्रममा यस प्रकारको दुखद घटना दोरिन नदिन सम्बन्धीत पक्षहरुलाई संयमित र संवेदनशील रहन आग्रह गरिन्छ । 

 

.............

शंकर लिम्बू

सचिव

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह 

Download & Print