प्रेस विज्ञप्ती गुठी _19_6_9

  • Posted Date: June 09, 2019

मितिः २०७६।०२।२६
प्रेस विज्ञप्ती
नेपाल सरकारले ल्याउन लागेको गुठी सम्बन्धी विधेयकमा भएका प्रावधानले गुठी सम्पदा संस्कृतिलाई मास्ने अवस्था देखिएकोले आदिवासी नेवाः समुदायले उक्त विधेयकको विषयमा आफ्नो अभिमत जाहेर गर्न संविधान प्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार अनुरुप शान्तिपूर्ण प्रर्दशनप्रति एक्कासी विना जानकारी लाठीचार्ज, पानीको फोहोरा र कुटपीट धरपकड गरिएको छ ।  
यसमा कुटपीटबाट महेश कारन्जितलाई टाउको जस्तो संवेदनशील, अंगमा कुटपीट गरी सख्त घाइते अचेत अवस्थामा भएको र हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा पाँच टाँका लगाइएको छ । साथै डा. महेशमान श्रेष्ठ, विकास महर्जन, कृष्ण गोपाल भायो, अनिश वैद्यलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, अनामनगरमा राखिएको बुझ्नमा आएको छ । यसरी महिला वृद्घ–वृद्घाको समेत ख्याल नगरी गरिएको उक्त कार्यप्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहूार्निप)को गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका निहत्था जनतामाथि बल प्रयोग गर्नु भनेको जनताका संविधान प्रदत्त अधिकार हनन् र कुन्ठित पार्नु हो । राज्यको यस प्रकारको व्यवहारले जनताको अधिकार कुन्ठित पारेको छ । राज्यको यस प्रकारको क्रियाकलापले आमनागरिकको शान्तिपूर्ण रुपमा प्रदर्शन तथा विरोध गर्न पाउने अधिकार हनन् हुनुको साथै मानव अधिकारको गम्भीर उल्लघंन हुन गएको छ । 
राज्यको यस प्रकारको क्रियाकलाप तत्काल रोकेर जनताको शान्तिपूर्ण बिरोध गर्न पाउने अधिकारको रक्षा गर्नुका साथै सख्त घाइतेलाई यथोचित उपचार गर्ने व्यवस्था गरी नियन्त्रणमा लिइएकाहरुलाई तत्काल रिहा गर्न राज्यका सम्बन्धित निकायहरुलाई आग्रह गर्दछौं ।   

............
शंकर लिम्बू
सचिव
 

Download File