आदिवासी अधिकार सम्बन्धी पुस्तकहरु बिमोचन

  • News Date: May 31, 2017 | Post By LAHURNIP

आज मिति २०७४ जेठ १७ गतेका दिन अल्फा हाउस बानेश्वर काठमाडौंमा लाहुर्निप तथा IWGIA (इव्गीया) द्वारा आयोजित पुस्तक विमोचन समारोह नेपाल वार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी.को प्रमुख आतिथ्य तथा भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय डा. गोपाल दहित र भाषा आयोगका अध्यक्ष माननीय डा. लवदेव अवस्थीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 


यस समारोहमा भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय डा. गोपाल दहितले नेपाल सरकारले नीति निर्माण गर्दा आदिवासीमैत्री हुने प्रतिबद्घता जनाउनु भयो । आदिवासीसंग सम्बन्धित दुईटा पुस्तकहरुको विमोचन समारोहमा विशेष अथितिको मन्तव्य राख्ने क्रममा उक्त कुरा व्यक्त गर्नु भएको हो । उक्त पुस्तकहरु माननीय मन्त्री डा. गोपाल दहित, माननीय डा. लभदेव अवस्थी र बरिष्ठ अधिवक्ता शेरबहादुर के.सी. तीनजनाले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । 

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले मिति २०७३ पौष २२ र २३ गते आयोजना गरिएको उच्च स्तरीय नीतिगत संवादमा प्रस्तुत विभिन्न कार्यपत्रहरुको संगालो “नेपालमा आदिवासी अधिकारः नीतिगत अवस्था, चुनौती र अवसरहरु” तथा ईन्टरनेसनल वर्क ग्रुप फर ईन्डिजिनियस अफेयरस्ले आफ्नो वार्षिक प्रकाशन “The Indigenous World 2017” नामक पुस्तकहरुको आज विमोचन गरिएको हो । 

नेपालमा आदिवासी अधिकारः नीतिगत अवस्था, चुनौती र अवसरहरु नामक पुस्तकमा जम्मा १५ वटा लेखहरु रहेकाछन्, जसमा ७ वटा मन्त्रालयको तर्फबाट, १ मानव अधिकार आयोग र ७ वटा आदिवासी विज्ञहरुद्वारा लेखिएका लेखहरु समावेश गरिएका छन् । नेपालमा आदिवासी अधिकारको नीतिगत रुपमा पहिलो पटक बहश भएको र सो बहश विश्लेषण गरी पुस्तककारको रुपमा पहिलो पटक छापिएको कुरा सम्पादक गोविन्द छन्त्यालले उल्लेख गर्नु भयो । 
विश्लेषणात्मक पुस्तकको रुपमा व्याख्या गर्दै माननीय मन्त्रीले भूमि सुधार गर्दा आदिवासीको थातथालोलाई विचार गर्ने पनि बताउनु भयो । साथै जग्गा हदबन्दि गर्दा पनि आदिवासीका संघसंस्था तथा गुठी प्रयोजनलाई पनि विचार गर्ने बताउनु भयो । 


नेपाल बारका अध्यक्ष शेरबहादुर के.सी.ले आफू मानव अधिकार विद्यार्थी रहेको र सोही विषयमा अध्यापन गराई राखेको तथा आदिवासीको अधिकार पनि मानव अधिकारको अभिन्न अंग भएको बताउनु भयो । साथै नेपाल बार एशोसिएशन पनि आदिवासीको क्षेत्रमा कार्य गर्ने प्रतिबद्घता जनाउनु भयो । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आदिवासी अधिकारको नीतिगत संवाद स्थानीय तथा गैरआदिवासीमा नपुगेको बताउनु भयो । 


पुस्तकको बारे समिक्षा गर्दै डा.डम्बर चेम्जोङले समग्रमा पुस्तक ज्ञानबद्र्घक, उपयोगी तथा आदिवासीका विविध पक्षलाई समेटेकोले विविधताको पुस्तकको संज्ञा दिनु भयो । राज्य पक्षको लेखहरुले आदिवासीको अधिकार पर्याप्त भएको देखिन्छ भने आदिवासीको पक्षबाट लेखिएका लेखहरुमा आदिवासीको अधिकार नीतिगत रुपमा अझै पनि कमी रहेको देखिन्छ भन्नुभयो । तथापि पुस्तक प्रकाशन आदिवासी अधिकारको नीतिगत वहशको थालनी भएको बताउनु भयो ।  


द ईन्डिजिनियस वल्र्ड २०१७ पुस्तक आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ (यूएनड्रीप) को दशकको रुपमा ईन्टरनेसनल वर्क ग्रुप फर ईन्डिजिनियस अफेयरस्ले प्रकाशन गरेको हो । यस पुस्तकमा संसारभरका आदिवासीहरुको अवस्था समेटिएको छ । नेपालको संविधान कार्यान्वनको बारेमा डा. कृष्ण बहादुर भट्टचनले लेख्नु भएको लेख यस पुस्तकमा समावेश गरिएको छ । साथै एसियामा यूएनड्रीपको १० वर्षमा भएका प्रभाव तथा उपलब्धिको बारेमा अधिवक्ता शंकर लिम्बूले लेख्नु भएको लेख पनि यस पुस्तकमा समावेश गरिएको छ । 
यस समारोहको अध्यक्षता लाहुर्निपका अध्यक्ष अधिवक्ता शान्ति कुमारी राईले गर्नु भएको थियो भने लाहुर्निपका कोषाध्यक्ष अधिवक्ता भिम राईले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रमका अध्यक्षता गर्नु भएका अधिवक्ता शान्ति कुमारी राईले मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।