सडक विस्तारका नाममा फेरी धरपकड

  • News Date: December 25, 2016 | Post By LAHURNIP

१० पुष २०७३, काठमाडाैं

जोरपाटी सुन्दरीजल सडक खण्डमा आन्दोलन गरेको आरोपमा चार महिलासहित १५ जना पक्राउ परेका छन् । अधिकारका लागि प्रदर्शन गर्दा कुटपिट तथा धरपकड गरिएको पक्राउ पर्नेहरु बताउँछन् । महिलाहरुलाईसमेत पुरुष प्रहरीहरुले पक्राउ गरेको बताइन्छ । जोरपाटी सुन्दरीजल सडक बिस्तारका क्रममा बिना सूचना स्थानीयहरुलाई घरबाट निकाली चिन्ह लगाएको बिरोधमा स्थानीयहरुले प्रदर्शन गरेका थिए ।  

प्रत्यक्षदर्शीका अनुसनर, गत पौष ८ गते शुक्रबारको दिन दिउँसो हतियार बोकोका पाँच सयको हाराहारीमा प्रहरी चिन्ह लगाउन आएका थिए । उनीहरु पानीको फोहोरा रहेको गाडीसहित सो क्षेत्रमा प्रवेश गरेका थिए । सो क्रममा जोरपाटी सुन्दरीजल खण्डमा गाडी बन्द गरी अघोषित कफ्र्यू सिर्जना जनमानसमा त्रासदी उत्पन्न गराएको उनीहरुको आरोप छ । 

सोको बिरोधमा आज बिहान ९ बजेदेखी ११ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने स्थानीयको निर्णय अनुसार विहान छाहारी युवा क्लब जोरपाटीबाट जोरपाटी चोक आउने क्रममा प्रहरीले एकजनालाई गालामा थप्पड हानेको र अर्काेलाई ढाँडमा मुक्का हानेका थिए । अन्य २ जनालाई लछार पछार गर्दै प्रहरीले गाडीमा हालिएको थियो । 

पक्राउ परेकी ईन्दिरा खनालका अनुसार महिलालाई पनि पुरुष प्रहरीले नै पक्राउ गरी गाडीमा हालेका थिए । पिडित गौतम खनालका अनुसार “२०५१ साल देखी नै सडकबाट ६ मिटर सडक छोडी घर निर्माण गर्न स्वीकृति दिएको अनुसार नै घर टहरा निर्माण गरिएको हो । हाल चिन्ह लगाएको २२ मिटर थाहा जानकारी नै नभई विकासको नाममा राज्यले आतंक मच्चाएको छ ।” 

पक्राउ परेको फोन मार्फत जानकारी पछि नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले ११ बजे सो क्षेत्रको अनुगमन गरेको थियो । पक्राउ पर्नेहरुलाई बौद्घ वृत्तले पक्राउ गरेको र त्यहाँ ठाउँ नभएर पछि गौशला वृत्तमा ल्याइएको बताइएको छ । तर सो बारे केही जानकारी नभएको एक जना प्रहरी सहायक निरिक्षक बताउँदछन् । अनुगमन पश्चात लाहुर्निपले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ ।