लाहुर्निपद्वारा कानूनी सहायता प्रदान

  • News Date: December 21, 2016 | Post By LAHURNIP

अधिकार तथा पहिचानको माग सहित आन्दोलन गर्नेहरुलाई राज्यले हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा चलाएको छ । मंगोल मूलवासी राष्ट्रिय फोर्समा लागेको आरोपमा कात्तिक महिनाको पहिलो हप्ता १४ जनालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।  पक्राउ पर्नेमा एक ७१ वर्षीय वृद्घ समेत रहेका छन् । 

उनीहरु २ महिना देखि महानगरीय प्रहरी बृत ठिमी, भक्तपुरमा हिरासतमा छन् । हिरासतमा उनीहरुलाई मानसिक यातना तथा कुटपिट गर्ने गरिएको बन्दीहरु बताउँछन् । अदालत परिसरमा समेत उनीहरुमाथि प्रहरीबाट अभद्र व्यवहार तथा कुटपिट हुने गरेको बताइन्छ । 

थुनामा रहेकाहरुलाई नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले कानूनी सहायता प्रदान गरिरहेको छ । टेम्डी शेर्पा, रविन श्रेष्ठ र राम बहादुर बुढा मगरका परिवारले सहयोगको आग्रह गरेपछि लाहुर्निपले निरन्तर रुपमा कानूनी सहायता प्रदान गर्दै आएको छ । हातहतियार खरखजानाको पक्राउ पूर्जी दिई ४० दिन भन्दा बढि हिरासतमा राखेकोले लाहुर्निपको सहायोगमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ । सर्वाेच्चले जिल्ला अदालत भक्तपुरलाई ३ दिन भित्र कैदीहरुलाई उपस्थित गराउन र मिसिल समेत उपलब्ध गराउन आदेश गरेको छ । 

लाहुर्निपले कैदीहरुको पक्षमा जिल्ला अदालत भक्तपूरमा थुनछेक बहसमा सहयोग गरेको छ ।  सो मुद्दामा  लाहुर्निपको तर्फबाट अधिवक्ताहरु शंकर लिम्बू,  भिम राई, सन्तोष रानामगर र राम हरी श्रेष्ठले बहस गरेका छन् । त्यस्तै अधिवक्ता गिरी राज राई, टेकम घर्तीमगर, सुनिल कुमार पटेल, रुप बहादुर सारुले पनि बहस गरेका छन् । जिल्ला अदालतले १० जनालाई पुर्पक्ष थुना र ४ जनालाई धरौटीमा रिहाको आदेश गरेको छ ।