टीकापुरमा थारु विरुद्ध मानवता बिरोधी हर्कत भयो

  • News Date: August 23, 2016 | Post By LAHURNIP

७ भदौ २०७३ः
सात जनाको ज्यान जाने गरी गत साल भदौमा टीकापुरको कैलाली घटनामा राज्यका तर्फबाट थारु विरुद्ध चरम दमन, यातना तथा मानवता विरोधी कार्य भएको अधिकार कर्मी तथा वुद्धिजीविहरुले बताएका छन् । सो घटना सम्बन्धी मानव अधिकार अनुगमन प्रतिवेदन सार्वजनिकका कार्यक्रमका वक्ताहरुले उक्त भनाई राखेका हुन् ।  
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले मानव अधिकार अनुगमन प्रतिवेदन आज काठमाडौमा सार्वजनिक गरिएको छ । टीकापुर घटना घटेको एक बर्ष पुगेको दिन पारी लाहुर्निपले मानव अधिकार प्रतिवेदन सार्वजनिक गरेको हो । सोही कार्यक्रममा कृष्णराज सर्वहारी र गणेश चौधरीद्वारा सम्पादित पुस्तक “थरुहट आन्दोलनः टीकापुर कथा” पनि सार्वजनिक गरिएको थियो ।  
सांसद गोपल दहित, मानावशास्त्री डा. कृष्ण भट्टचनद्वारा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित प्रतिवेदन तथा सम्पादित पुस्तक सार्वर्जनिक गरेका हुन् । प्रतिवेदनमा स्वतन्त्र तथा सम्मान पूर्वक बाँचन पाउने अधिकार, शान्तिपूर्ण भेला हुने अधिकार, यातना, अपमानजनक तथा अमानवीय व्यवहार विरुद्घको अधिकार मानवअधिकार रक्षकहरुको अधिकार, बालबालिकाको अधिकार तथा शिक्षाको अधिकार, स्वस्थ्य, साँस्कृतिक तथा सम्पत्तिको अधिकार हनन भएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा. राम दयाल राकेश, पत्रकार कृष्ण सर्वाहारी र लक्की चौधरी आफ्नो मन्तव्य राखेका थिए ।
प्रतिवेदनको निस्कर्ष र सुझाव खण्डमा नेपाल सरकारका लागि, आन्दोलनकारी पक्षहरुको लागि, नागरिक समाज तथा संचार जगतका लागि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संघसंगठनहरुको लागि तथा आदिवासीहरुको मानव अधिकार हेर्ने समाधीक्षकका लागि स्वतन्त्र छानबीन तथा थारुको मानव अधिकार रक्षाका लागि सुझाव दिइएको छ । २०७२ साल चैत्र १० देखी १३ गते सम्म लाहुर्निपका तर्फबाट अधिवक्ता शंकर लिम्बू, अधिवक्ता भिम राई, टहल थामी, देव कुमार सुनुवार तथा दलबहादुर धर्ती मगरको स्थलगत अनुगमनको आधारमा सो प्रतिवेदन तयार पारिएको ।   
थरुहट आन्दोलनको चिरफार गरेर तयार पारिएको थरुहट आन्दोलनः टिकापुर कथा लेखक द्वय कृष्ण सर्वहारी तथा पत्रकार गणेश चौधरीले सम्पादन गरेका हुन । थारु कल्याणकारिणी सभा (थाकास)को इतिहासलगायत टीकापुर अघि र पछिका विषय वस्तुहरु पुस्तकमा समेटिएका छन् ।