पहिचानवादी वकिल समुहको उम्मेदवारी घोषणा

  • News Date: March 05, 2016 | Post By LAHURNIP

नेपाल बार एसोसिएशनको २४ औं केन्द्रिय कार्यसमितिको निर्वाचनमा मनोहर साह नेतृत्वको पहिचान, संघियता एवं स्वतन्त्र पेशागत कानुन व्यवसायी समुह (आइफिल एलाईन्स) उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम २०७२ साल फागुन २२ गते, सामुदायिक भवन, घट्टेकुलोमा सम्पन्न भएको छ । अधिवक्ता रत्नेश्वर शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अथितिको रुपमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार शाह, वरिष्ठ अधिवक्ता लक्ष्मण लाल कर्ण, अधिवक्ता तथा लाहुर्निपका सचिव शंकर लिम्बू र अधिवक्ता नित्यानन्द ताजपुरियाको अतिथ्यता रहेको थियो ।  

अधिवक्ता साहको नेतृत्वमा बिरेन्द्र कुमार ठाकुर, चेत बहादुर आले र निना डंगोले क्रमशः उपत्यका उपाध्यक्ष, महासचिव र कोषध्यक्षमा उम्मेदवारी दिएका छन् । सदस्यहरुमा आशा राई (सदस्य महिला खुला), दीपक राई (सदस्य खुला),  अजय कुमार स्वर्णकार (सदस्य खुला) रहेका छन् ।

“पहिचान, सार्थक संघियता एवं समानुपातिक समावेशीता सहितको एकीकृत नेपाल, स्वायत्त, संघीय, निर्भिक नेपाल बार एशोसिएशन र न्यायपालिका हाम्रो अभियान” मुख्य नारा लिएर अघि बढेको यस समुहले न्यायपालिकाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाल बार एशोसिएशन मुख्यत दलगत रुपमा बढेको र आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा दलितको प्रतिनिधित्व सुनिश्चित नगरिएको तथा यि समुहहरुको प्रतिनिधित्व केवल दलिय सिफारिसमा मात्र भएको र यसले ती समुदायको प्रतिनिधीत्व नगरी केवल दलको मात्र प्रतिनिधीत्व गर्ने हुँदा छुट्टै समुह बनाई निर्वाचनमा खडा भएको जानकारी गराएका थिए ।