Press Release Dharan Bull Slaughtering

  • Posted Date: December 16, 2018


मितिः २०७५/०९/०१
प्रेस विज्ञप्ति
मिति २०७५ मंसीर २८ गतेका दिन धरान नगरपालिका, लासेबाट धरान नगरपालिका वडा नं. ३ का राजेश खड्गी, राजेन्द्र खड्गी र आशिष खड्गी, त्यस्तै धरान नगरपालिका वडा नं. ११ का अनिल शाही र अनिष शाही, भोक्राहा वडा नं. ३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी गरी १० जना आदिवासी तथा मुस्लिम समुदायका व्यक्तिलाई गोरु काटेको अभियोगमा पक्राउ गरेको भन्ने यस नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)मा जानकारी आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान तथा नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानवअधिकारका कानूनहरुले आफ्नो साँस्कृतिक चलन र प्रचलन तथा परम्परालाई अभ्यास गर्न पाउने मानवअधिकारलाई प्रत्याभूत गरेको छ । कतिपय आदिवासी तथा मुस्लिमहरुले आफ्नो साँस्कृतिक क्रियाकलाप सम्पन्न गर्न चौपाया (गोरु,बाछा) लगायतलाई प्रयोग गर्ने गर्दछन् । नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले राष्ट्रले धर्म र संस्कृतिहरुलाई हस्तक्षेप गर्ने तथा अपराधीकरण गर्ने कार्य विधिसम्मत र मानवअधिकारसम्मत हुन सक्दैन । राज्यको यस्तो कार्य संविधान तथा मानवअधिकारको मर्म विपरीत हुन आउने मात्र नभई सामाजिक असन्तुष्टि जन्मन गई समुदायबीच फाटो र सामाजिक द्वन्द्व उत्पन्न हुन जानेतर्फ राज्य सचेत हुन जरुरी छ । प्राप्त जानकारी अनुसार कुनै अमूक धर्म, संस्कृति वा आस्थालाई उत्तेजित पार्ने, होच्याउने जस्ता नियतले गरेको कार्य भनि अभियोग लगाएको अवस्था पनि देखिन आएन । तसर्थ, यस विषयलाई कानूनी कारवाही गरिहाल्नु पर्ने गम्भीर अवस्था पनि विद्यमान नरहेकोले पक्राउ परेकाहरुलाई यथाशीघ्र छाडी दिनुहुन सम्बन्धित निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

..............
शंकर लिम्बू
सचिव

 

Download File