International Day for the Elimination of Racial Discrimination

  • Posted Date: March 21, 2017

जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक रुपमा विभिन्न प्रकारका जातीय र नश्लीय भेदभाव तथा विभेद विरुद्ध अनवरत रुपमा संघर्षरत विश्वभरिका सम्पूर्ण न्यायप्रेमी जनताहरुलाई नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) शुभकामना  व्यक्त गर्न चाहन्छ । 
जातीय विभेदबाट दैनिक रुपमा विश्वभरीमा लाखौं मानिसहरु पीडित हुने गरेको तथ्य जगजाहेर छ । जसका कारण एकातिर समान रुपमा मानवअधिकार अभ्यास गर्नबाट बञ्चित भएका छन् भने अर्कातिर समाज र विश्वमा  अशान्ति र द्वन्द्व बढिरहेको छ  । “नश्लीय विभेद वैज्ञानिक दृष्टिले गलत, नैतिकरुपमा निन्दनीय, सामाजिक दृष्टिले अन्यायपूर्ण र खतरनाक” भन्दै संयुक्त राष्ट्रसंघ मार्फत सबै राष्ट्रले उपनिवेशलाई भत्र्सना गरेतापनि नश्लीय विभेद कायम रहनु आफैमा विडम्बनापूर्ण रहेको छ । 
नेपालले सवै प्रकारको जातीय विभेद उन्मूलनगर्ने महासन्धि १९६९ लाई सन् १९७१ मा अनुमोदन गरेतापनि हिन्दु वर्णवादी व्यवस्थाले आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम, महिला लगायतका धेरै समुदायलाई निरन्तर ऐतिहासिक विभेद र बहिष्करणमा पारिरहेको छ । पछिल्लो समयमा आफ्नो अधिकार तथा पहिचानको माग राखी संगठन विस्तार गर्नेलाई संगठित अपराध जस्ता झुट्टा तथा गम्भीर प्रकृितका मुद्दाहरु लगाउने प्रर्वत्ति बढ्दो छ ।  राजनीतिक क्रियाकलापको आवरणमा मधेशी समुदाय प्रति अपत्तिजनक अभिव्यक्तिहरु आउनु, शान्ति सूरक्षाको नाममा अत्याधिक बल प्रयोग तथा कानून विपरित जथाभावि गोली चलाई धेरै मधेशीहरु शहीद हुनु परेको अवस्था छ । यस्तो कार्यले स्पस्ट रुपमा राज्यले जातीय तथा नश्लीय कुरालाई बढवा दिएको देखिन्छ । यस्ता कार्यलाई न्यूनिकरण गर्दै राज्यले महासन्धीलाई प्रभावकारीरुपमा कार्यान्वन गर्नु जरुरी छ । 
सन् १९६० मा दक्षिण अफ्रिकामा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेपमा ६९ जना न्यायप्रेमी जनताले ज्यान गुमाएको घटनाको पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा घोषणा गरेको प्रत्येक वर्ष २१ मार्चका दिन संसारभर मनाइने यस दिवसको यो वर्षको अन्तर्राष्ट्रिय नारा “Racial profiling and incitement to hatred, including in the context of migration" रहेको छ । 
निश्चिय पनि जातीय विभेद विरुद्धको संघर्ष कठिन छ । तथापि यसविरुद्ध लड्न र सफलता प्राप्त गर्न असम्भव नभएकोप्रति विश्वास प्रकट गर्र्दै यस विशेष अवसरमा न्याय, समानता र मानवअधिकारको प्राप्तिको निम्ति लडिरहेका विश्वभरीका न्यायप्रेमी समुदायहरुप्रति लाहुर्निप ऐक्यबद्धता जाहेर गर्दछ । मानिसले मानिसविरुद्ध गर्ने सबै प्रकारको विभेद, भेदभावको घोर विरोध गर्दै न्याय, समानता र मानवअधिकारको लडाईमा सँगसँगै अघि बढ्ने प्रतिबद्धता समेत यो अवसरमा जाहेर गर्दछौं । 


...................
शंकर लिम्बू
सचिव

Download File